मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको दुईवटा वडालाई एकसाथ पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको छ । बुधबार थाहा नगरपालिकाको ९ र १० वडालाई एक समारोहबीच संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।
वडा नम्बर ९ को माझगाउँमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका मेयर विष्णुबहादुर बिष्टले चित्लाङ स्वास्थ्य चौकी र टौखेल सहरी स्वास्थ्य केन्द्रलाई प्रमाणपत्र प्रदान गर्दै पूर्ण संस्थागत सुत्केरी (घरमा सुत्केरी हुने शून्य¬) सुनिश्चित भएको वडा घोषणा गर्नु भएको हो । मेयर विष्ट, पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, ९ नम्बर वडाअध्यक्ष राजकुमार बलामी, दुबै वडाका वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयम्सेविकाहरु, सेवाग्राहीहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको सहभागितामा वडा नम्बर ९ र १० लाई ‘जिरो होम डेलीभरी’ वडा घोषणा गरिएको हो ।
दुई वडालाई संस्थागत सुत्केरी वडा घोषणा गर्दै मेयर विष्टले अब अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा भोषणा गर्दै नगरलाई नै बालमैत्री नगरको रुपमा विकास गर्नेगरी अभियान चलाईने बताउनुभयो । उहाँले घरमा सुत्केरी सून्य गर्ने अभियानले दिगो विकासका दर्जन लक्ष्य हासिल गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । संस्थागत सुत्केरीको सुनिश्चिततासँगै नगरलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने अभियानको पनि आधार तयार भएको बिष्टको भनाइ थियो । उहाँले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । समारोहको अध्यक्षता गर्नु भएका वडा अध्यक्ष राजकुमार बलामीले वडाको प्राथमिकता नै शिक्षा र स्वास्थ्य रहेको उल्लेख गर्नुभयो ।
वडामा कुनै पनि महिला घरमा सुत्केरी भएका छैनन् अर्थात् सबै सुत्केरी स्वास्थ्य संस्थामै भएको छ भन्ने तथ्याङ्क प्रमाणीकरण भएपछि जिरो होम डेलीभरी वडा घोषणा गरिन्छ । चालु आर्थिक वर्षको हालसम्म वडा नम्बर ९ को चित्लाङ स्वास्थ्य चौकीमा १६ जना सुत्केरी भएका छन् भने वडा नम्बर १० को टौखेल सहरी स्वास्थ्य केन्द्रमा ३ जना सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा दुबै संस्थामा गरी २९ जना सुत्केरी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन सम्भव नभएका १४ जनालाई काठमाडौँ ‘रिफर’ गरिएकोमा सबैको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।