नेकपा (एमाले)को सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।
उहाँले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डासमेत तय गरिएको बताउनुभयो । “२०७९ भदौ १० र ११ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकयता धेरै राजनीतिक परिवर्तन भएको छ सो सम्बन्धमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार गरी अबको बैठकमा पेश गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।
यस्तै बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेण्डा समेत रहेको छ । “चौथो केन्द्रीय कमिटीपछि पार्टीका धेरै सचिवालय र स्थायी कमिटी बैठक बसेका छन् । त्यसका निर्णयको अनुमोदन गराउने एजेण्डा रहेको छ”, उहाँले भन्नुभयो ।
यसैगरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुुहुनेछ । यस्तै केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।
मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेश गर्ने उहाँले बताउनुभयो । समीक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिनेछ ।
मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाउने उहाँको भनाइ रहेको थियो । यस्तै पार्टीले केन्द्रीय सदस्यलाई आफ्नो ठाउँभन्दा अर्को ठाउँमा वर्षमा एकपटक खटाउने निर्णयसमेत गरेको छ ।
बैठकले पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्नेसमेत एजेण्डा रहेको उहाँले बताउनुभयो । उहाँले एमाले कानुन पालना मान्ने पार्टीले सचिव टोपबहादुर रायमाझीमाथि लागेका आरोपमाथि अनुसन्धान गर्न सम्बन्धित निकायलाई सहयोग गर्ने बताउनुभयो । एमालेको आगामी केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेदेखि ३० गते काठमाडाैँमा बस्दैछ ।