हेटौंडा। २८ वर्षपछि जग्गाधनी पूर्जा पाउँदा देवकुमारी कार्कीका आँखाबाट बररर आँसु झरे । खुशीले उनले आँसु थाम्नै सकिनन् । यो पूर्जा पाउनका लागि उनले निकै सास्ती बेहोर्नु परेको थियो । २०५० सालको साउनमा आएको बाढीपहिरोले साबिकको आमभन्ज्याङ गाविसस्थित उनको घर, खेत सबै बगाएको थियो । उनी बाढी पीडित मात्र होइन, सुकुम्बासी पनि बनिन् ।
२०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका—१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४ सय २ घर वनेको थियो । ती घरमध्ये कार्कीले पनि एउटा घर पाएकी थिइन् । तर उनले त्यस्को लालपूर्जा पाउन सकेकी थिइनन् । २८ वर्षको बीचमा धेरै थरीका सुकुम्बासी आयोग बनेन् तर उनले लालपूर्जा पाएकी थिइनन् । वनस्पतिमा निर्माण गरेको ४ सय २ घरमध्ये कार्कीसहित ७४ घरलेमात्र लालपूर्जा पाएका थिएनन् । अहिले राष्ट्रिय भूमि आयोग मकवानपुरले ती ७४ घरधुरीलाई मंगलबार एक समारोहबीच जग्गाधनी पूर्जा प्रदान गरेको छ । जग्गाधनी पूर्जा हातमा परेपछि खुशीले गद्‌गद् भएर ६५ वर्षीया कार्कीको आँखाबाट आँसु झरेको थियो । जग्गाधनी पूर्जा हातमा पाएपछि भनिन् , ‘लालपुर्जा नपाइकन मरिन्छ कि जस्तो लागेको थियो तर अहिले पूर्जा हातमा परेपछि असाध्ये खुशी लाग्यो ।’
लालपूर्जा हातमा परेपछि उनी मात्र होइन रिना लामा, प्रदीप दाहाललगायत ५६ जनाको खुशीको सीमा थिएन । ुघरमा बसेको २७र २८ वर्ष भइसक्यो तर कागजपत्र केही थिएन, अहिले ढुक्क भइयो,ु प्रदिपले भने । भूमि आयोग मकवानपुरले वनस्पतिस्थित बस्तीमा नै आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, वाग्मती प्रदेशका मुख्य सचिव मुकुन्द निरौला, वडाध्यक्ष पेमा लामा, आयोगका अध्यक्ष विष्णु दाहालले ५६ जनालाई जग्गाधनी पूर्जा वितरण गरेका थिए । बाँकी १८ जनाले राजस्व नतिरेका कारणले लालपूर्जा पाउन सकेका छैनन् । ुउनीहरुले राजस्व तिर्ने बितिक्कै लालपूर्जा पाउँछन्,ु आयोगका अध्यक्ष दाहालले भने, ‘उनीहरुको पनि पूर्जा बनिसकेको छ । इकान्तिपुरबाट ।