हेटाैंडा । बागमती प्रदेश सरकारले निजामती किताबखाना सञ्चालनमा ल्याएकाे छ । प्रदेशमा समायोजन भएका र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । राष्ट्रिय किताबखाना र बागमती प्रदेश सरकारबीच बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।
सङ्घीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्त्वपूर्ण विषयका रूपमा थाँती रहेको प्रदेश किताबखानाको अवधारणाले अब मूर्त रूप पाएको छ। यससँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौं कर्मचारीहरूको विवरण अपडेट हुने भएको हो । उक्त समझदारीपत्र आदान प्रदान कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले सङ्घीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए ।
मन्त्री मोदीले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पुरा गर्दै जाने समेत बताए । बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पिआइएस प्रभावकारी ढङ्गले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्रमा कितावखानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
हाल निजामती सेवामा झन्डै ९० हजार कर्मचारी कार्यरत छन् । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झन्डै २५ हजार कर्मचारी छन् । कितावखानाका अनुसार अब क्रमशः सबै प्रदेशलाई प्रदेश पिआइएस पोर्टल हस्तान्तरण गरिनेछ ।