हेटौंडाः भीमफेदी गाउँपालिका वडा नम्बर ८ का स्थानीयवासीहरुले उपनिर्वाचन गर्न भन्दै सोमबार जिल्ला निर्वाचन आयोगको कार्यालय मकवानपुरमा निवेदन दर्ता गराएका छन् । भीमफेदी गाउँपालिका ८ ईपापञ्चकन्याका स्थानीयवासीहरुले संयुक्तरुपमा वडाअध्यक्षको पदको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

सरकारले २०७६ मंसिर १४ गते जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने समय तोकेको भोलीपल्ट भीमफेदी ८ का स्थानीयहरु मिलेर निर्वाचन कार्यालय मकवानपुरमा दर्ता नम्बर १५ र अख्तियारमा ३५७ नम्बरमा निवेदन दर्ता गरिएको स्थानीयहरुले बताएका छन् । भीमफेदी गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डिभि परेर परिवारसहित अमेरिका गएपछि रिक्त रहेको वडा अध्यक्षको पदमा उपनिर्वाचन गराउन भन्दै निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा निवेदन दिएका हुन् । वडा सदस्य नवराज अधिकारीलाई कार्यबहाक वडाअध्यक्षको जिम्मेवारी दिई २०७५ चैत २७ गते डिभि परेर वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि ४ महिनादेखि स्थानीयको कामकार्वाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन लिखित निवेदन दिएका हुन् ।