मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले सरसफाई गरेर नेपाल भ्रमण वर्ष २०२० को स्वागत गरेको छ । कार्यालयले बुधबार विहान वडा क्षेत्र भित्र पर्ने पुर्व पश्चिम राजमार्गको सरसफाई गरेर भ्रमण वर्षको स्वागत गरेको हो ।

वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा वडा भित्र पर्ने पुर्वपश्चिम राजमार्गको करीब १ किलो मिटर सडक सरसफाई गरिएको थियो । वडा अध्यक्ष भण्डारीको नेतृत्वमा विभिन्न टोल विकास संस्थाको सहयोगमा राजमार्ग सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख अतिथि खुलालले पर्यटन प्रबद्धन गर्न सरसफाईको महत्वपुर्ण भुमिका हुने भएकाले वडा कार्यालयले गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्यहरु, टोलविकासका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षानिकायलगायतको सहभागिता थियो ।