सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै विद्यार्थीले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गरिसकेको जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी वैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा शिक्षा सचिव रामकृष्ण सुवेदीले सबैको मिहिनेतले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सकिएको बताउनुभयो । पत्रकार सम्मेलनमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आगामी वर्षका लागि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइ र विक्री वितरणका लागि जनक शिक्षा तयार रहेको बताउनुभयो । त्यस्तैगरी, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले परिवर्तन गरिएको पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्टहरूमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने निजी प्रकाशकलाई कारबाही गरिने स्पष्ट पार्नुभयो । त्यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको बताउनुभयो ।