हेटौंडा । गाउँमै बसेर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बेसिक र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर उपमहानगरपालिकाले दिन थालेको हो ।
सुक्रबार पहिलो चरणमा हेटौंडा–५ पिप्लेमा सञ्चालन भएको एक महिने बेसिक तालिमको समापनमा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरीरहेको बताइन् ।
उनले तालिम लिने मात्र होइन सिपलाई आर्यआर्जनको पाटोमा जोड्नका लागि आवश्यक सहजिकरण उपमहानगरले गर्ने भन्दै ज्ञानलाई उत्पादन सँग जोडेर काम गर्न सुझाब दिइन् । तालिममा सहभागिलाई आवश्यक उपमकरण र कच्चापदार्थका लागि उपमहानगरले सकेको व्यवस्थापन मिलाउने उनले बिश्वास दिलाईन् । उनले अब हेटौंडा–१८ मा गार्मेन्ट तालिम सञ्चालनको तयारीमा उपमहानगर रहेको जानकारी दिइन् ।
पहिलो चरणको बेसिक तालिम लिएका १० जना महिलाहरुका लागि आवश्यक पर्ने मेसिनको व्यवस्थापन उपमहानगरले गर्ने भएको छ । तालिम लिएकाहरुलाई अहिलेका लागि आवश्यक रहेको ७ वटा मेसिन मध्य तालिमको क्रममा खरिद गरेका ४ वटा रहेको र बाँकि ३ वटा मेसिन उपमहानगरले दिने भएको छ । पहिलो चरणको बेसिक तालिममा सहभागिले सर्टपाइन्ट र फ्रक सिलाउँन सिकेका थिए । बेसिक तालिममा सहभागिलाई उपमहानगरले जेठमा एड्भान्स तालिम आयोजना गदै उनिहरुलाई दक्ष सिपकर्ता बनाउँने बताइएको छ ।
उनिहरुले एड्भान्स तालिम सञ्चालन नभएसम्मका लागि खोपेगल्लीमा रहेको जय प्रकृति सिलाई प्रशिक्षण केन्द्रमा निःशुल्क सिप सिक्ने व्यवस्था केन्द्रका सञ्चालक मेनुका श्रेष्ठले दिएकी छन् । अहिले लिएका तालिमबाट उनिहरुले रेडिमेट सर्टपाईन्ट र फ्रक बनाउँन सक्ने बताइएको छ ।
बेसिक गार्मेन्ट तालिमको समापनमा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार कृष्ण घिताल, सहकारी तथा उद्योग बिकास शाखाका हिमप्रसाद पौडेल, बेसिक तालिमका प्रशिक्षक अनुज परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको आतिथ्यता रहेको थियो ।
तालिम समापनको क्रममा उपमहानगरले रोगजारीको अवसर सृजना गर्नका लागि हेटौंडा–१७ उर्मिला सुनुवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सिलाई कटाईको सिप भएपनि मेसिनको अभावमा रोजगारीमा जोडिन नसकेकी उनलाई उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हस्तान्तरण गरेकी हुन् । उपमहानगरले आर्यआर्जनमा जोड्नका लागि १३ हजार ६ सय रुपियाँ बराबरको मेसिन सुनुवारलाई दिएको हो ।