एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । खेल कीर्तिपुर र मूलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
कीर्तिपुरमा समूह ‘ए’ का कतार र साउदी अरेबियाबीच खेल हुँदैछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेबिया मलेसियासँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै, मूलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र कुवेतबीच खेल हुनेछ ।
बहराइनले पहिलो खेलमा सिङ्गापुरलाई हराएको थियो । पहिलो खेलमा कुवेत यूएईसँग हारेको थियो । हिजो भएको खेलमा नेपालले ओमान तथा हङकङले यूएईलाई हराएको थियो । यो प्रतियोगितामा १० देश सहभागी छन् ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ।