प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकमा सो आयोगको प्रतिवेदन पेश गर्नुभयो । यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार सम्बन्धि पत्र वाचन गरेर सुनाउनुभयो ।
यसअघि आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले गुठी तथा भूमिहीन सुकुम्वासीका समस्या सबै राजनीतिक दलहरूको साझा समस्या भएकाले यसलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभयो । सांसदहरूले शून्य समय तथा विशेष समयमा उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले गुठी सम्बन्धी समस्या, भूमिहीन सुकुम्वासीको समस्या र मुक्त कमैयाका समस्या लाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको सदनलाई जानकारी गराउनुभयो । यसअघि, बैठकमा बोल्दै सांसदहरुले हुरी बतास र आगलागीका प्रकोप हुन नदिन सरकारले गरिरहेको तयारी तथा काठमाडाँै उपत्यका सहितका सहरी क्षेत्रको वायुमण्डलमा देखिएको प्रदूषण नियन्त्रण गर्ने अल्पकालिन र दीर्घकालीन योजनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । यस्तै, सांसदहरुले नेपालमा बनेका सवारी साधन दर्ता तथा सञ्चालन गर्ने कानूनी व्यवस्था मिलाउनुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान तथा मिटरव्याजी पीडितका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका मागहरू राख्नुभयो प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ः०० बजे पुनः बस्ने छ ।