बागमती प्रदेश सञ्चार रजिष्ट्रारको रुपमा रेवती प्रसाद सापकोटा पुनः नियुक्त हुनु भएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत रहेको सञ्चार रजिष्ट्रार कार्यालयकाे रजिष्ट्रारका रूपमा सापकाेटा दाेस्राे कार्यकालका लागि नियुक्त हुनु भएकाे हाे ।
बागमती प्रदेश सरकारको २०७९ चैत्र २८ को निर्णय अनुसार सिन्धुपाल्चोक, चौतारा साँगचोकगढी नगरपालिका–४ का सापकोटालाई प्रदेश सञ्चार माध्यम ऐन २०७५ को दफा ३१ बमोजिम चार वर्षका लागि सञ्चार रजिष्ट्रारको पदमा नियुक्त गरिएको हो । नवनियुक्त सापकोटालाई आइतबार एक कार्यक्रमकाबीच आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सपथ ग्रहण गराउनु भएकाे छ । मन्त्रालयका सचिव ध्रुव गैँडाको सभाअध्यक्षमा भएको सपथ कार्यक्रममा मन्त्रालयका उपसचिव अनुशील सापकोटा र दीपक न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।

सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यमसम्बन्धी आवश्यक नियम, निर्देशिका तयार पार्ने कार्य उल्लेखनीय रह्यो । अहिले रजिष्ट्रारको कार्यालयबाट ८५० जना पत्रकारले परिचयपत्र प्राप्त गरेका छन् । १८४ वटा अनलाइन, ९५ वटा रेडियो, ३७ वटा टेलिभिजन रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन् भने सञ्चार तथा पत्रकारितासम्बन्धी ६ वटा पुस्तक रजिष्ट्रारको कार्यालयले प्रकाशन गरिसकेको छ । यस्तै
सापकोटाको पहिलो कार्यकालमा सञ्चार माध्यममा आवद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरुका लागि क्षमता विकास, पुनर्ताजगी एवम् अभिमुखीकरणका कार्यक्रमहरु भएका छन् । पहिलो कार्यकालको तुलना दोस्रो कार्यकालमा रजिष्ट्रारको कार्यक्षेत्र विस्तार भएकोले जिम्मेवारीसँगै पहिलो कार्यकालको अनुभवबाट आगामी दिनमा सञ्चार क्षेत्रको गुणस्तरीय विकासमा सक्दो राम्रो काम गर्ने सापकोटाले बताउनुभयाे ।










