मिथिलासहित तराई मधेसका जिल्लामा हर्षोल्लासका साथ ठुलाबडाबाट आशीर्वाद लिँदै जुडशीतल पर्व आज मनाइँएकाे छ । प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि शहर तथा गाउँगाउँमा आफूभन्दा सानाको शिरमा आजुरमा बासी जल लिएर थपथपाएर वर्षभरि राम्रोसँग सुखमय तरिकाले बितोस् भने कामना गर्ने गरिन्छ ।
बुबाआमा, गुरु, मान्यजन एवं घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर वर्षभरि शीतलता तथा सद् विचार, सुख शान्ति तथा समृद्धिको कामना सहित आशीर्वाद दिने चलन छ । आजका दिन घर वरपर रहेको बोटबिरुवा सहितका अन्य वनस्पतिलाई पनि सिँचाइ गर्ने चलन छ । किसानहरूले खेतबारीमा मलजल गर्ने पनि गर्ने चलन रहेको छ ।
शरीरको तापक्रमलाई अनुकूल बनाउन माटोले महत्वपूर्ण भूमिका खेल्ने र शरीरलाई शीतलता प्रदान गर्ने जनविश्वास रहेको छ । सफा माटोमा छाला सम्बन्धी रोगबाट बचाउने शक्ति रहने आयुर्वेदका चिकित्सक डा. सीमा झाले जानकारी दिनुभयो ।
वैशाख १ गते राति बनाइएको बासी भात, तरुवा, बडाबडी, सोहिजनको तरकारी सहितका परिकार कूल देवतालाई चढाएर घरका सबै ढोकाको मूल भागमा अर्पण गरी खाने चलन छ । जुडशीतल पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।











