भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् ।
बागकती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानलाई दिनुपर्ने राहतमा समेत समस्या भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको पनि बताउनु भएको छ ।