हेटौंडा । स्वास्थ्यजस्तो क्षेत्रमा कर्मचारीले गम्भीर खेलबाड गरेको पाइएको छ । प्रशासकदेखि प्राविधिक तहका कर्मचारीसम्मले कुन हदसम्म लापर्वाही गर्छन् भन्ने उदाहरण मकवानपुरमा देखिएको छ । गत १३ चैतमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोली हेटौँडा उपमहानगरपालिका १ मा रहेको सञ्चो हस्पिटल प्रालिमा पुग्यो ।
अनुगमनका क्रममा टोलीले हस्पिटलले अनुमतिबिनै वर्षौंदेखि प्रयोगशाला ल्याब सञ्चालन गर्दै आएको भेउ पायो । अनि मापदण्डविपरीत ल्याब सञ्चालन गरिएको भन्दै प्रशासनले ताला लगाइदियो । तर, प्रशासनले लगाइदिएको ताला अस्पतालकै कर्मचारीले खोलेको भेटिएको छ । प्रशासनले लगाएको ताला दोस्रो पक्षले निर्देशनबमोजिमका निश्चित मापदण्ड पूरा गरेपछि प्रशासनकै रोहबरमा खोल्नुपर्ने हुन्छ । तर, प्रयोगशालाको ताला प्रशासनले नभएर हस्पिटलका कर्मचारीले पहिल्यै खोलिदिए ।
ल्याबमा ताला लागेपछि अस्पतालले ल्याब सञ्चालनको अनुमति लिएपछि जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोली ताला खोलिदिन १९ चैतमा पुनः अस्पताल पुगेको थियो । तर, टोली अस्पताल पुग्दा ल्याबको ढोका खुल्लै थियो । अर्थात् ताला पहिल्यै खोलिसकिएको थियो । आफ्नो रहोबरमा खुल्नुपर्ने ताला पहिल्यै खुलिसकेको भए पनि प्रशासनले अस्पताललाई कुनै कारबाही गरेन । टुलुटुलु हेरेर फर्कियो । जनताको स्वास्थ्यजस्तो गम्भीर विषयमा पनि यस्तो लापर्वाही हुँदा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गम्भीर नदेखिएको उपभोक्ता हित संरक्षण मञ्चको प्रतिक्रिया छ ।
तीन दिनमै अनुमतिपत्र खारेज
प्रशासनले ताला लगाइदिएपछि सञ्चो हस्पिटलले १९ चैतमा प्रदेश सरकारअन्तर्गतको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट अनुमति लिएको थियो । प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको हस्ताक्षरमा उक्त अनुपतिपत्र दिइएको देखिन्छ । तर, रोचक कुरा के भने जनस्वास्थ्य प्रयोगशालाले १९ चैतमा लिएको अनुमति सोही कार्यालयले २१ चैतमै खारेज गरिदियो ।
हस्पिटलले उपलब्ध गराएको कागजात पूर्ण रूपले अध्ययन र प्रभावकारी स्थलगत निरीक्षणबिनै जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको पाइएको छ । सुरुमा अनुमति दिएर तीन दिनमै अनुमति खारेज गर्नुमा जनस्वास्थ्य प्रयोगशालाको गम्भीर लापर्वाही रहेको देखिन्छ । नेपाल सरकार स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका–२०७३ को परिच्छेद ४ मा उल्लेखित मापदण्ड पूरा नगरी सञ्चालन भएको प्रयोगशालालाई कार्यालयले हतारमा अनुमति दिएको पाइएको छ । जसका कारण दबाबका भरमा दिइएको अनुमति तीन दिनसम्म पनि नटिकेको हो ।
प्रयोगशालाका निमित्त निर्देशक कार्की पनि कागजातको पूर्ण अध्ययन नै नगरी हतारमा अनुमति दिइएको स्वीकार्छन् । करचुक्ताका कारण अनुमतिपत्र खारेज गरिएको उनको प्रतिक्रिया छ । हतारमा अनुमतिपत्र किन दिइयो रु अनि तीन दिनमै फेरि किन खारेज गरियो भन्ने प्रश्नमा कार्कीले भने, ‘हस्पिटलले कागजात पेस गर्दा कर चुक्ता म्याद थपको कागज देखियो । कर्मचारी साथीहरूले पनि ठीक छ भनेपछि अनुमति दिइएको हो, अध्ययन गरेपछि फेरि खारेज गरिदिएका छौँ ।’ कार्की भने आफूले मसिनो ढंगसँग कागजात अध्ययन गर्न नपाएको गुनासो गर्छन् । ‘मेरो काम गाउँगाउँ डुल्ने हो । जिम्मेवारीअनुसार काम गर्ने कर्मचारी हुनुहुन्छ, कार्कीले भने, उहाँहरूले नै ठीक छ भनेपछि अनुमति दिएको हुँ । अझै साथीहरूले त खारेज पनि नगरौँ भन्नुभएको थियो । मैले खारेज गरेको छु ।’
अनुमति खारेज भए पनि हस्पिटलको ल्याब भने सञ्चालन भइरहेको छ । जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले चारवटा बुँदामा त्रुटि देखाएर ल्याबको अनुमति खारेज गरेको हो । औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयसहितको सहभागितामा अनुगमन गर्दा ल्याब मापदण्डविपरीत सञ्चालन भइरहेको पाएपछि ताला लगाइएको प्रशासनका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिएका थिए । अनुगमनका क्रममा हस्पिटलको आकस्मिक कक्षमा म्याद गुज्रिएका औषधि पनि फेला परेका थिए । त्यस्तै, हस्पिटलले दुई वर्षदेखि आन्तरिक राजस्व कार्यालयमा कर नतिरेको पाइएको थियो ।
सञ्चो हस्पिटलमा उपमहानगरभित्रका व्यवसायको कर तथा नवीकरण हेर्ने निकाय हेटौँडा उपमहानगरकै उपमेयर राजेश बानियाँको लगानी छ । उपमेयर बानियाँ सञ्चो हस्पिटलका पूर्व अध्यक्ष हुन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला उनले हस्पिटलको अध्यक्ष जिम्मेवारी छोडेका थिए । उनले आफ्ना विश्वासपात्र विजय पुडासैनीलाई अध्यक्ष बनाएका थिए । पुडासैनी हाल पनि उपमेयरको सचिवालयमै रहेर स्वकीयको भूमिका निर्वाह गर्छन् ।
उपमेयर भएपछि स्वकीयमा जिम्मेवारी लिएर सरकारी वेतन बुझिरहे पनि करिब एक महिनाअघि करारका कर्मचारी हटाउँदा उनको पनि जागिर गएको थियो । हाल, वेतनबिनै स्वकीयको भूमिका निर्वाह गरिरहेको उपमहानगर स्रोतले जानकारी दिएको छ । उपमेयर बानियाँले अध्यक्षको जिम्मेवारी छोडे पनि लगानी कायमै रहेको उनी निकटकाले बताएका छन् । शिलापत्रबाट ।