काठमाण्डौ – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आबद्ध भएका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फेरि एक पटक च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । ‘मलाई लाग्छ यो गर्नका लागि हामीसँग यहाँ टिम छ’, मेस्सीले थपे ।
बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग जितेका ३४ वर्षीय अर्जेन्टिनी कप्तानले पछिल्लो पटक सन् २०१५ मा यो उपाधि जिताएका थिए । पीएजसी भने अझै पहिलो उपाधिको खोजीमा छ, सन् २०२० को फाइनलमा ऊ बार्यन म्युनिखसँग पराजित भएको थियो । ‘मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’, पीएसजीमा दुई वर्षका लागि अनुबन्ध भएका मेस्सीले भने । बार्सिलोनाले मेस्सीसँगको सम्झौतामा आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै अनुबन्ध नगरेपछि उनी पीएसजी आएका हुन् । बार्सिलोनाका लागि सात सय ७८ खेल खेलेका मेस्सीले ६ सय ७२ गोल गरेका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले नाओ क्याम्पमा रहँदा ३५ ट्रफी पनि जिताएका छन् ।