file photo

मकवानपुर । आज सोमबार नेपालमा मनाइँदै गरिएको ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गर्नुभएको छ । वि.स.२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरण गर्दै नेपालमा राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रमुखले ‘सबैका लागि एक र एकका लागि सबै भन्ने मूल ध्येय लिई सञ्चालित सहकारीमा संलग्न सबैमा यस अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको शुभकामना सन्देशमा समुदायमा छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । शर्माले आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको बताउनु भएको छ । संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास, नियमन तथा प्रबर्धनका कार्यमा जोड दिईएको समेत प्रमुखले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । यो कुरा खुशीको विषय भएको प्रमुख शर्माको भनाई । ‘यसबाट हाम्रो देशमा सहकारी कार्यक्रमहरुको समुचित उत्थान भइरहेको छ र यो खुशीको विषय हो ।’ शुभकामनामा भनिएको छ ।
आर्थिक क्षेत्रमा रहेका असमानताहरूमाथि हस्तक्षेपकारी भूमिका खेल्दै नागरिकहरूको आर्थिक समुन्नतीमा सहकारिताबाट सघाउ पुग्नुपर्नेमा प्रमुख शर्माको जोड छ । अझ दुर्गम क्षेत्रका विपन्न वर्गलाई यस अभियानमा समेटी उनीहरुलाई विभिन्न स्वरोजगारका अवसर सिर्जना गराउँन यसका अभियन्ताहरू निरन्तर लागिपर्नु आवश्यक देखिएको शर्माले उल्लेख गर्नुभएको छ । उहाँले सहकारी संस्थाहरु पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित,सदस्य केन्द्रित र यसको मूल्य मान्यता,सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।