हेटौंडा, माघ २५ । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । २ किलो प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित प्रहरीले राक्सिराङ गाउँपालिका–४ बस्ने २८ वर्षीय रबिन्द्र सिन्तान र ३६ वर्षीय रामबहादुर डिम्डुङलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब १ः३० बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा ना. ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई खानतलासी र्गने क्रममा उनीहरूको साथबाट करिब २ किलो अफिम जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद लागूऔषध र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।









