मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार जिल्लाको भीमफेदी गाउँपालिकामा अनुगमन गरेको छ । नियमित अनुगमनका क्रममा जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गाउँपालिको दोस्रो चौमासिक प्रगतिको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले भीमफेदी गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगतिलागायत स्थानीय तहमा आईपरेका समस्यालगायत विषयमा जानकारी लिनुका साथै समाधानका विषयमा छलफल गरेको छ । छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष लामाले संघीय र प्रदेश सरकारबाट साझा अधिकारका विषयमा कानुन निर्माण नहुँदा र दहत्तर बहत्तर राजस्व बाँडफाँडको विषयमा अन्यौलता रहिरहदा समस्या भएको बताउनुभयो । अध्यक्ष लामाले जिल्ला समन्वय समितिलाई अभिभावकत्व लिएर पालिकाको समग्र विकासमा समन्वय र सहजिकरण गरिदिन आग्रह गर्नुभयो ।

छलफलका क्रममा जिसस प्रमुख घलानले स्थानिय तहहरुले राजस्व बृद्धि र पुँजीगत खर्च बृद्धि तर्फ ध्यान दिन सुझाव दिनुभयो । उहाँले स्थानिय तहहरुले पुँजीगत खर्चलाई बृद्धि गर्नुपर्ने साथै स्थानीय उत्पादनको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै प्रमुख घलानले भौतिक मात्र नभई आर्थिक सामाजिक क्षेत्रमा पनि उत्तिकै ध्यान दिएर काम गर्न सुझाव दिनुभयो । उहाँले बालमैत्री स्थानीय तह निर्माणमा लाग्न आग्रह गर्दै जिससबाट स्थानीय तहका हरेक क्षेत्रमा भरपुर समन्वय र सहजिकरण हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो क्रममा प्रमुख प्रशासकिय अधिकृत महर्जनले गाउँपालिकाले चालु आर्थिक वर्षमा केन्द्रबाट प्राप्त बजेट मध्ये ५१ दशमलव ४७ प्रतिशत, प्रदेशबाट प्राप्त मध्ये १४ दशमलव ६३ र आन्तरिक तर्फको ३८ दशमलव ८५ र अन्य तर्फ १५ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । कुल बजेटको चालु तर्फ ४९ दशमलव ५९ र पुँजीगत तर्फ २४ दशमलव ९९ प्रतिशत खर्च भएको तथा ६५ दशमलव ०५ प्रतिशत बेरुजु फछ्यौट गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले पुँजीगत तर्फ धेरै योजनाहरु ठेक्का प्रकृयाका रहेकाले खर्च कम देखिएको बताउनुभयो । अनुगमन टाेलीमा जिल्ला समन्व्य समिति मकवानपुरका सदस्य बिरेन्द्रकुमार लामा, सुमित्रा थिङ, समन्वय अधिकारी बासुदेव खतिवडा, शाखा अधिकृत सुनिताकुमारी गजुरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल दिपिका खनाललगायतको सहभागिता थियो ।