मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना संक्रमण बिरुद्धमा समुदाय सकृय हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार हेटौंडा–१५ चुरीयामाईमा समुदायमा कोरोनाको प्रभाव, हालसम्म वडामा भएका प्रयास तथा अहिलेको अवस्थाका विषयमा जानकारी लिने क्रममा उहाँले कोरोना विरुद्ध समुदाय नै सकृय भएर लाग्नुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले समुदाय स्तरमानै कोरोना संक्रमण फैलिएकाले समुदाय नै सचेत र सकृय हुन जरुरी रहेको बताउनुभएको हो । समुदायलाई सचेत गराउन र यस बिरुद्धमा प्भावकारी काम गर्ने उदेश्यका साथ वडा स्तरमा वडाध्यक्षको नेतृत्वमा गठित समितिले यसमा विषेश भुमिका खेल्नुपर्ने बताउनुभयो । वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको प्रतिनिधि सहितको उक्त समितिका बारेमा जानकारी दिँदै उहाँले स्थानीय राजनैतिक दल, टोल विकास संस्था, क्लब जस्ता संस्थालाई परिचालन गरेर कोरोना बिरुद्ध काम गर्नुपर्ने बताउनुभयो । उक्त समितिले आफ्नो वडा भित्रका कोरोना संक्रमितको विवरण राख्ने, आइसोलेसन तथा क्वारेन्टाईनमा बस्नेको सिफारीस गर्ने, सचेतना मुलक कार्यक्रमहरु गर्ने, स्वास्थय मापदण्डको पालना भए÷नभएको अनुगमन गर्ने जस्ता काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना बिरुद्ध हालसम्म अन्य कुनै औषधि आइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना र सचेतना नै अहिलेको विकल्प भएकाले सबैले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताउनुभयो । संक्रमित व्यक्ति र उसको परिवारप्रति कसैले पनि नकरात्मक सोँच नराख्न र नकरात्मक व्यवहार नर्गन समेत आग्रह गर्नुभयो । यस्तै उहाँले सकेसम्म घर बाहिर ननिस्कन, निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, नियमित रुपमा साबुन पानीले हाल धुन, भौतिक दुरी कायम गर्न तथा समाजमा सकारात्मक सचेतना अभिवृद्धि गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले वडा स्तरमा गठीत समिति सकृय भएर लाग्नु पर्ने र समितिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । सो क्रममा प्रमुख खुलालले कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य तथा तत्कालिन नेकपा एमाले चुरीयामाई गाउँकमिटिका सचिवालय सदस्य रामबहादुर थिङको परिवारसंग भेटघाट समेत र्गनुभएको थियो ।

कार्यक्रममा १५ नम्बर वडाअध्यक्ष महारत्न लामाले आफुले वडामा सक्दो प्रयास गरेको बताउनुभयो । उहाँले टोल विकास समिति, स्थानीय क्लबहरुको परिचालन गरेर सचेतनाका कार्यक्रमहरु समेत संचालन गर्ने बताउनुभएको छ । वडामा हाल ९ जनामा कोरोना संक्रमण पुष्टि भएको र एक जनाको मृत्य भएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, टोल विकास संस्थाका प्रतिनिधिहरु, स्थानीय कल्बका प्रतिनिधिहरुको सहभागिता थियो ।