नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्ने सूचनामा उल्लेख छ । कूल रकम मध्ये ‘क’ वर्गको वाणिज्य बैङ्कहरूमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ‘ख’ वर्गको विकास बैङ्कहरूमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने छ । तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ ।