हेटौंडा- बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई एकरएक लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
पछिल्लो दुई सातामा प्रदेशमा जंगली हात्तीको कारण तीन जनाको मृत्यु भएको छ । एम गज नामक जंगली हात्ती आक्रमणको कारण ८ फागुनमा मकवानपुरको मनहरी-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी, १२ फागुनमा बकैया-५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो । यसैगरी, मकुन्ना नामक जंगली हात्ती आक्रमणको कारण १३ फागुनमा सिन्धुलीको कमलामाई नगरपालिका-१३ का ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको थियो ।