मकवानपुर – बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ । नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआए सम्म प्रदेश सरकारबाट नबाहिरिने र तत्काल त्यस्तो निर्देशन नआएको एमाले बागमती प्रदेश संसदिय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले वताउनुभयो ।
नेकपा एमालेका मन्त्रीहरुले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडेपनि प्रदेशमा भने तत्काल सरकार छोडीहाल्ने अवस्था नरहेको उहाँले बताउनुभयो । प्रदेश सरकार छोड्दा सबैतिर एकैपटक छोड्ने साथै एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओबादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरुले नछोडेको अवस्था रहेको बताउनुहुँदै उहाँले अहिले तत्कालकालागि प्रदेश सरकार नछोड्ने र पार्टीे केन्द्रबाट निर्देशन आएपछी सरकार छोड्ने तयारीमा रहेको थपलियाले बताउनुभयो ।
केन्द्रीय तहमा राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि सोमवारै सरकार छाडेको छ । तर प्रदेश सरकारमा भने एमाले कायमै रहेको छ । बागमती प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री हुनुहुन्छ । केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा भने एमालेका मन्त्री तत्काल सरकार छोड्ने मुडमा हुनुहुन्छ । बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ, भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुहुन्छ । बागमती प्रदेशमा एमालेका २७ जना सदस्य हुनुहुन्छ ।