प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमा आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको छ । धरान–२ मा नवनिर्मित नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय मङ्गलवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही समयमै आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोड दिनुपर्ने र देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टी एकताबद्ध हुने बताउनुभयो । सबैको सहयोग विना पार्टी एक हुन सक्दैन देशभरिका साथीहरू एक भएर हिँडे मात्र पार्टी पनि एक ढिक्का हुन्छ प्रधानमन्त्री देउवाले बताउनुभयो ।

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएकाले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताउनु भयो । नेपाली काँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नुभयो साथै उहाँले बसपार्कको समेत अवलोकन गर्नु भएको छ ।

धरानमा पुस २० गतेदेखि २३ गते सम्म धरान डे मनाउने निर्णय गरिएको छ । सोही अवसरमा आज धरानमा सार्वजनिक बिदा दिइएको छ । आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेर सुरु भएको त्यही आधारमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो । त्यसपछि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानकको रुपमा लिएर धरान डे मानिँदै आएको छ । पुस २० गते आधुनिक धरान सहर स्थापनाको १२१ औँ वर्ष पुगेको छ । पब्लिक हाई स्कुलमा हुने धरान डे उत्सवमा ३ दिन विविध कार्यक्रमहरू हुनेछन् ।