नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्नु हुने भएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रधानमन्त्रीले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लाग्नु भएको हो ।
बिहीबार साँझ सिंहदरवारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताउनु भयो । ‘’छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’’, उहाँले भन्नु भयो । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्रीले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने लाग्नु भएको हो । हिजो सिंहदरवारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू आजै साझा उम्मेदवार टुङ्गो लगाउने प्रयासमा छन् ।