हेटौंडा । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा देशभरका शिवालयहरुमा आज बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।
आज काठमान्डौं स्थित पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । शिवरात्रिमा पशुपतिनाथ मूलमन्दिरमा २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ ।
पोहोर १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या गएको वर्ष २० लाख थियो । यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार पशुपति क्षेत्रमा भक्तजनको भिड हुने भएकाले आज ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम राखिएको छैन ।
शिवरात्रिमा पशुपति क्षेत्र पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न झण्डै चार हजार स्वयंसेवक खटिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । पशुपतिनाथमा क्षेत्रमा ३ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ।
शिवरात्रिमा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्दिर अगाडिको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।