हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले लागूऔष गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । गाँजा ओसार पसार गर्न प्रयोग गरिएको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भित्री सडकखण्डबाट ४५ किलो ६० ग्राम सहित पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बा. २१ च ९३२६ नम्बरको कार चालक पर्सा बहुदरमाई नगरपालिका–४ बस्ने २० वर्षीय ब्रजेश कुमार तेली, कारमा सवार बहुदरमाई–९ बस्ने ४० बर्षीय नैमोदिन देवान, १९ वर्षीय छोटु गुप्ता कलुवार, बहुदरमाई–७ बस्ने २२ वर्षीय सन्तु राउत कुर्मी र ना. २१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा–१९ बस्ने १९ वर्षीय नबराज थिङ रहेका छन् ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको प्रहरीले बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कुवापानीबाट बस्तिपुरतर्फ आउँदै गरेको कार र मोटरसाइकललाई चेकजांच गर्ने क्रममा उक्त लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागुऔषध गाँजाको बारेमा नैमोदिन देवानलाई सोधपुछ गर्दा उक्त गाँजा नवराज थिङसंग खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यायल मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।थिङको साथबाट समेत गाँजा ६० ग्राम फेला परेको उनले बताए । कार, मोटरसाइकल, गाँजा सहित पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।