हेटौंडा । ३२ करोडभन्दा बढी मूल्यको जग्गा आफ्नो नाममा गर्ने व्यवसायी अजयराज सुमार्गी पराजुली परिवारको योजनामा ब्रेक लागेको छ । यसअघि भूमिहीन र अव्यवस्थित नागरिकलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उद्देश्यले गठित राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले अर्बौं सम्पत्तिका मालिक सुमार्गी परिवारको नाममा स्थानीय कुखरेनी सामुदायिक वन समूहको एक बिघा बढी जग्गा दिने तयारीअनुरुप ३५ दिने सूचना निकालेको थियो ।

सूचना निकालेर जग्गा दिलाउने प्रपञ्चबारे ‘भूमि आयोगकै सहयोगमा वनको जग्गा हत्याउने सुमार्गी परिवारको तयारी’शीर्षकमा यसअघि नै समाचार प्रकाशित गरेको थियो । भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिने कार्य गर्नुपर्ने आयोग जिल्ला समितिले अर्बौंका मालिकलाई हालको चलनचल्तीको मूल्य अनुसार ३२ करोड १० लाखको जग्गा दिन सूचना जारी गरेको थियो । आयोग जिल्ला समितिबाट लालपुर्जा पाउने धेरैमध्ये एकमा व्यापारी अजयराज सुमार्गीकी आमाको नामसमेत परेको हो । विश्वकान्ति कलावती सुमार्गी पराजुलीलाई हेटौँडा उपमहानगरपालिका–९ मा एक बिघा १२ कट्ठा २ धुर जग्गा प्रदान गर्ने तयारी आयोग जिल्ला समितिको थियो ।

प्रतिधुर ५ लाख रुपैयाँ चलनचल्तीको मूल्यअनुसार एक बिघा १२ कट्ठा २ धुर जग्गाको मूल्य ३२ करोड १० लाख हुन आउँछ । अजयराज सुमार्गीकी आमाको नाममा मात्र नभई हेटौँडा–९ नम्बर वडामा तीन पराजुली परिवारलाई तीन ठाउँको जग्गा दिने तयारी थियो । उद्धवराज पराजुली र गोपालप्रसाद पराजुलीलाई १६ कठ्ठा १४ धुर र प्रदीप प्रसाद पराजुली र खेमनाथ पराजुलीलाई १ बिघा १ कठ्ठा १५ धुर जग्गा दिन लागिएको थियो ।

यी तीनवटै पराजुली परिवारले पहिला ९ नम्बर वडाबाट जग्गा भोगचलन गरिरहेको सिफारिससहित भूमि आयोगमा जग्गा दाबी गरेका थिए । तीन पराजुली परिवारले दाबी गरेको जग्गाको कुल मूल्य भने धेरै हुन आउँछ । हालको चलनचल्तीको मूल्यअनुसार दाबी गरिएको कुल जग्गाको मूल्य ७० करोड ५५ लाख हुने देखिन्छ ।

सुमार्गी परिवारले जग्गा हत्याउने योजनाअनुसार सूचना जारी भएपछि कुखुरेनी सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय मकवानपुरलाई पत्राचार गरेको थियो । वन समूहको पत्राचारपछि डिभिजन वनले राष्ट्रिय भूमि आयोगलाई राष्ट्रिय वन क्षेत्रको जग्गा व्यक्तिलाई दिने कानुनी व्यवस्था नभएको भन्दै कार्य रोक्न पत्र काटेपछि आयोग जिल्ला समिति पछि हटेको हो । वनले तीनवटै पराजुली परिवार एकाघरका रहेको र वनको जग्गा व्यक्तिको नाममा जाने देखिएकाले तत्काल रोक्न वन कार्यालयलाई अनुरोध गरेको थियो ।

वन कार्यालयले वन ऐन-२०७६ को दफा (७) मा वन क्षेत्रको जग्गा दर्ता गर्न नहुने व्यवस्था भएको भन्दै कार्य रोक्न भूमि आयोग जिल्ला समितिलाई पत्र काटेको थियो । डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख डिभिजन वन अधिकृत शिव सापकोटाले वन क्षेत्रको जग्गा व्यक्तिको नाममा गर्ने विषय कानुनले बन्देज गरेको बताए । ‘हिजोको कुरा के हो थाहा भएन । अहिले त्यो जग्गा वन क्षेत्रको हो । वन क्षेत्रको जग्गा व्यक्तिको नाममा हुँदैन । यो कार्य नरोकिए कानुनअनुसार हुन्छ,’ सापकोटाले  भने ।

भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले सुमार्गी परिवारले कुनै हालतमा जग्गा नपाउने बताए । उनले डिभिजन वनबाट वन क्षेत्र रहेको भनी पत्र आएकाले अब व्यक्तिको नाममा जग्गा नजाने बताए । अध्यक्ष दाहालले वडा कार्यालयको सिफारिसमा मागदाबी भएर आएपछि भूमि आयोगले प्रक्रिया अनुसार दाबी विरोधका लागि सूचना जारी गरेको बताए । ‘दाबी विरोध छ कि भनेर सूचना जारी भएको हो । अब वन क्षेत्रको जग्गा रहेछ त्यो कसैले पाउँदैनन्,’ दाहालले भने ।यो समाचार हामिले शिलापत्रबाट साभार गरेका हौं ।