हेटौंडा– स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा सोमबार आजबाट हाटबजार सुरु भएको छ । राक्सिराङ गाउँपालिका– ५ स्थित चैनपुरमा गाउँपालिकाले निर्माण गरेको स्टलहरुमा हाट बजार सुरु गरिएको हो ।
हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सञ्चालन गर्ने योजनाका साथ सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुराहरु गिट्ठाको चिप्स, उसिनेको गिट्ठा, तरुल, रैथाने उत्पादन फापर, कोदो, गहतलगायत चिउरीको मह, जस्ता स्थानीय उत्पादनहरु बिक्रीका लागि राखिएका थिए । स्थानीय किसानले उत्पादन गरेका विभिन्न तरकारीसहितका २० वटाभन्दा बढी स्टल राखिएको थियो ।
हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाका अनुुसार अब हरेक महिनाको १ र १५ गते चैनपुरमा हाट बजार सञ्चालन गरिनेछ । हाट बजारमा स्थानीय खानाका विभिन्न परिकारदेखि लोकल कुखुरा, सिस्नुको पाउडरसम्म बिक्रीका लागि राखिएको थियो । हाट बजारको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको हाट बजार उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुईटेल, बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, राक्सिराङ ५ का वडाध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तु गरेका थिए ।