मधेश प्रदेश सभामा निर्वाचित प्रदेश सभाका सदस्यहरुले आज पद तथा गोपनीयताका शपथ ग्रहण गर्नुभएको छ । मधेश प्रदेश सभाको सभा हलमा नव निर्वाचित प्रदेश सभाका सदस्यहरूलाई प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउनुभयो ।
मधेश प्रदेश सभामा नवनिर्वाचित भएका कूल १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले हिजो शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा मधेश प्रदेश सभाका १ सय ४ जनाले शपथ ग्रहण गर्नुभएको हो ।
मधेश प्रदेशमा निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभाका सदस्यहरूलाई सर्वोच्च अदालतबाट हालका लागि कामकाज नगराउनु भन्ने सर्वोच्च अदालतको आदेश आएकाले उहाँहरूको शपथ ग्रहण नहुने प्रदेश सभा सचिवालयका निमित्त रञ्जित कुमार यादवले जानकारी दिनुभयो । यसरी सर्वोच्च अदालतले मर्यादाक्रमको विषयमा परेको रिटमा अदालतले हालका लागि कामकाज नगर्न नगराउन आदेश भएकाले माला कर्ण र मोहम्मद रजि हैदरले शपथ ग्रहणबाट वञ्चित हुनुभएको हो । ४९ जनाले मातृभाषामा र ५५ जनाले नेपाली भाषामा शपथ लिनुभयो । पहिलो अधिवेशन १८ गतेका लागि प्रदेश प्रमुखले आह्वान गरिसक्नुभएको छ ।