मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । गएकाे मङ्गलवार गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार नेपाल प्रहरीका एक सय तीन र सशस्त्र प्रहरीका एक सय १८ जना फर्किएका हुन् । अस्ति र हिजो गरेर दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र चालकका रूपमा उनीहरू खटिँदै आएका थिए । यस्तै सुरक्षाकर्मी तथा चालक फिर्ता गरिएकोमा केहीले असन्तुष्टिसमेत जनाएका छन् ।
कार्यविधि कडाइका साथ लागू गर्न लागिपरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभएको छ । नेपाल प्रहरीका छ सय ६१ र सशस्त्र प्रहरीका चार सय पाँच जना सुरक्षाकर्मी बहालवाला तथा पूर्वविशिष्टको सुरक्षामा खटिएको प्रारम्भिक तथ्याङ्क छ । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।