मकवानपुर – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले भोलि बिहीबार सपथ लिनु हुने भएको छ । ११० सदस्यीय बागमती प्रदेश सभा सदस्य मध्ये १५ जनाले मातृभाषमा सपथ लिनु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मातृभाषामा शपथ लिने प्रदेश सभा सदस्यहरूमा नेपाली कांग्रेसका ३, नेकपा एमालेका ४, नेकपा माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना गरि १५ जना हुनुहुन्छ । खड्काका अनुसार १५ मध्ये ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिनु हुने भएको छ ।
नेवारी भाषामा शपथ लिनु हुनेमा कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जन, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठ, नेकपा माओवादीका गङ्गानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ, एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी हुनुहुन्छ । भने, माओवादी केन्द्रका राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिनु हुनेछ ।
बागमती प्रदेश सभामा ११० जना सदस्य हुनुहुन्छ, जसमध्ये जेष्ठ सदस्य रामप्रसाद ढुंगानालाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराउनु भएको छ । अब बाँकी १०९ जना प्रदेश सभा सदस्यहरुलाई भोलि दिउँसो २ बजे प्रदेश सभा सचिवालयमा जेष्ठ सदस्य ढुंगानाले सपथ गराउनु हुनेछ । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य हुनुहुन्छ ।