काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न सकेन । गठबन्धनको बैठकमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देब गुरुङ बैठकबाट बाहिरिनुभएको छ । नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि अध्यक्ष दाहाल र महासचिव गुरुङ बैठकबाट बाहिरिनुभएको हो । बैठक चलिरहेको समयमा उहाँहरू बैठकबाट बाहिरिनु भएको हो ।
अहिले गठबन्धनको बैठक सकिएको छ । बैठकपछि प्रतिक्रिया दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता गठबन्धनबीच भएको छलफल कुनै निष्कर्षमा नपुगेको र फेरी पछि छलफल जारी रहने बताउनुभयो । बैठकमा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत सामावादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन दलले बाँड्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । तर नेपाली काँग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री पद छोड्न नसक्ने अडान राखेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

बालुवाटारमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीसँग छलफल गर्न अहिले बालकोट पुग्नुभएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल भइरहेको छ । अध्यक्ष ओली र दाहालबीच छलफल भइरहँदा रास्वपामा सभापति रवि लामिछाने पनि बालकोट पुग्नुभएको छ । यस अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बालकोट पुगी सरकार गठनका विषयमा अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । अहिले नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राप्रपाका नेताहरुबीच सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
छलफलमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ भने माओवादीबाट अध्यक्ष दाहाल र महासचिव गुरुङ हुनुहुन्छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय आज साँझ ५ः०० सकिँदै छ।