काठमाडौँ । सरकार निर्माणका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफललाई निष्कर्षमा पुर्‍याउन आजै पुनः शीर्ष नेताहरूको बैठक बस्ने जानकारी दिनुभयो । उहाँले वर्तमान गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताउँदै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर निष्कर्षमा पुर्‍याउनु हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनालको हुनुहुन्थ्यो ।