निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।
‘आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उहाँले भन्नुभयो, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ (रक्सी) सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरूलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारबाहीमा पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् । काठमाडौं उपत्यकासहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।