मकवानपुर – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले मंशिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ । मंगलबार हेटौडामा महतले आगामी निर्वाचन पश्चात नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गर्नुभयो ।
नेपाल प्रेस युनियन मकवापनुरले मंगलबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनवापछि कांगेस सबैभन्दा ठूलो पार्टी बन्ने समेत दावी गर्नुभयो । आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले अधिकांस स्थानमा जित हात पार्ने तथा अधिकांश क्षेत्रमा काँग्रेस विजयी हुने आँकलन प्रस्तुत गर्दै महतले भन्नुभयोे– “सबैभन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीमा दावी गर्न पाउँने भएकाले देउवा नै आगामी सरकारको प्रधानमन्त्री बन्ने ठोकुवा गरेँ ।”
उहाँले गठबन्धन दलहरुको बैठकमा सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारेमा छलफल भने नभएको स्पष्ट पार्नुभयो । प्रवक्ता महतले फुटाउँने भन्दा पनि जुटाउँने नेतृत्व आजको आवश्यकता भएकाले माओवादी केन्द्र र समाजवादीलाई समेत सँगसँगै लिएर हिडेको स्मरण गराउँदै देउवाले मात्रै सबैलाई एकैठाउँमा मिलाएर लान सक्ने दावी गर्नुभयो । उहाँले गठबन्धनका उम्मेदवारहरुले जितेमात्रै व्यवस्था र संविधानको रक्षा हुने र देशले विकासको गति लिने उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सह–महामन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, मकवानपुरका पार्टी सभापती बुद्ध लामा, सचिव भिमसेन महत, प्रवक्ता अर्जुन चौलगाई लगाएत नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।