मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी होइन मत फेर्न सबैलाई मतदातालाई आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारको कार्यक्रम अन्तर्गत हेटौंडा आएका लामिछानेले ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै अब मत फेर्ने समय आएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा भएको सभामा सम्बोधन गर्दै लामिछानेले भने– ‘वर्षौदेखि लागेको पार्टी छोड्नुस भन्दिन । यसपटक निर्वाचनमा पार्टी होइन मत फेरेर हेर्नुस् ।’ देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकोले पनि आफु राजनीतिमा आएको उनले बताए । वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई नेपाल फर्क अभियान नै संचालन गरेर काम गरी खाने वातावरण सिर्जना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढेको लामिछानेले जानकारी दिए । ‘काम गर्न चुनाव जित्नै पर्दैन । समस्या पर्दा सबैलाई सहयोग गर्न तयार छु । समाजमा चेलिबेटीहरुमा भएको विभेद अन्त्य गर्न र अत्याचार गर्न सधै आवाज उठाईरहेको छु’ लामिछानेले भने । उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी महिला उम्मेदवार उठाएको जानकारी गराउँदै आफूले हात हालेको काम अधुरो छोडेको छैन, देशमा भएका समस्याहरु स्थायी रुपमा समाधान गर्न तयार रहेको बताए ।