मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गर्नुभएको छ ।
“हालसम्म पनि नेपाली खेलाडीहरुको प्रदर्शन अत्यन्तै सुखद् नै छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु । बाँकी खेलहरूबाट पनि सफल हुने विश्वासका साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना” मुख्यमन्त्री पौडेलद्धारा जारी सन्देशमा उल्लेख गरिएको छ । सन्देशमार्फत उहाँले खेलक्षेत्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेलकूदको विकासका लागि सरकारले सञ्चालन गरिरहेका गतिविधि प्रस्तुत गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको छ । प्रदेशमा एक अन्तराष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवम् स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्ड हल निर्माण कार्य भैरहेको छ । आगामी दुई वर्षमा भौतिक रुपमा हामी सक्षम हुनेछौंँ, अनि प्रदेश सरकारले खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ ।”