आईसीसी टी–२० विश्व कपकाे दाेस्राे खेलमा नेदरल्यान्ड्सले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नेदरल्यान्ड्सले यूएईलाई तीन विकेटले हरायाे ।
यूएईले दिएकाे एक सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बल बाँकी छँदा सात विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाेडले २३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ११ रन बनायाे । यूएईका लागि मुहम्मद वसीले ४५ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बस दी लिडेले तीन र फ्रेड क्लासेनले दुई विकेट लिए । आजकाे जितसँगै नेदरल्यान्ड्स दुई अङ्कका साथ समूह ए काे दाेस्राे स्थानमा पुगेकाे छ ।