मकवानपुर। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लक्ष्यित गर्दै मकवानपुरमा दलहरुले कार्यकर्ता भेला तथा चुनावी कार्यक्रम गर्न सुरु गरेका छन् । चुनाव लक्ष्यित योजनाहरु निर्माणको लागि दलहरुले कार्यकर्ता भेला तथा एजेण्डाहरु सार्वजनिक गर्न थालेका हुन् ।
यसै बीच नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले शनिबार जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा तथा क्षेत्र नम्बर–१ अन्तरगत प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठको उम्मेदवार परिचय तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागि नेताहरुले मकवानपुरको प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवारी दिएका छ जना उम्मेदवारलाई हार्ने छुट नभएको भन्दै लागिपर्न निर्देशन दिएका छन् । योजना बद्ध ढंगले चुनावी मैदानमा होमिएकाले एमालेले यस जिल्लामा गरेको कामका आधारमा पनि जित सुनिस्चित भएको नेताहरुले दाबि गरेका छन् ।
‘सूर्यमा मतदान गरेर आफुलाई जिताएमा कसैले पस्चाताप गर्नुपर्दैन–थापा

कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष तथा एमालेका उम्मेदवार कमल थापाले सूर्यमा मतदान गरेर आफुलाई जिताएमा कसैले पनि पस्चाताप गर्नु नपर्ने बताउनु भएको छ । सूर्यमा मतदान गरेर आफूलाई जिताएमा कसैले पनि पश्चाताप गर्नु नपर्ने बताउँदै थापाले भन्नुभयो “म मकवानपुर जिल्लाको साझा अभिभावक बनेर सबैको आवजको प्रतिनिधित्व गर्ने छु ।” यो चुनाब आफ्नो जीवनको अन्तिम चुनाव रहेको बताउँदै थापाले अहिलेको सहकार्यलाई सहज रुपमा लिन एमालेजनलाई आग्रह गर्नुभयो । अहिलेको सहकार्य एकथान सांसद जित्नका लागि मात्र नभएर सधैका लागि गरिएको सहकार्यलाई बुझ्न उहाँले आग्रह गर्नुभयो । नागरिकता बिधेयकका विषयमा राष्ट्रिपतिले गरेको कमदको आफूहरुले स्वागत गरेको उहाँले बताउनुभयो ।
एमालेका उम्मेदवार विजयी बनाउने गरी चुनावी अभियानमा सक्रिय बन्न रामेश्वर रानाको निर्देशन

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने बताउनुभयो । अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथी रानाले एमाले सरकारमा रहँदा गरेको कामहरुले विकासका ढोकाहरु खोलेको बताउँदै एमालेको जितले मात्र देशमा समृद्धि आउने बताउनुभयो । पार्टीले देशको भावी प्रधानमन्त्रीको रुपमा पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीलाई अघि सारेर अघि बढेको बताउँदै जिल्लामा पार्टीको चुनावी अभियानलाई तीब्रता दिने गरी अघि बढ्नु पर्ने उहाँको भनाई थियो । पार्टीलाई सत्ता गठबन्धन लगाएत विदेशी शक्तीहरुले चौतर्फी घेराबन्दी र षड्यन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध उभिन कार्यकर्तालाई निर्देशन दिनुभयो । मंसिरमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउने गरी सक्रिय बन्न पार्टीको सम्पूर्ण संगठनहरुलाई उहाँले निर्देशन दिनुभयो ।
देशलाई बचाउन पनि एमालेले जित्नु जरुरी छः डोरमणि पौडेल

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिले मुलुक शंकटमा रहेकाले देशलाई बचाउन पनि एमालेले जित्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले एमाले कमजोर बनाउने देशी बिदेशी शक्ति कृयाशिल रहेको बताउनुभयो । राष्ट्रियता बलियो बनाउन अन्य केही दलसङ्ग सहकार्य भएको बताउनुभयो । सिक्किमिकरणमा पुर्याउन भुटानीकरण गर्न गठबन्धनले केपी ओलि नेतृत्वको सरकार ढालिएको दावि गर्नुभयो । एमालेका जित्ने आधार धेरै रहेको र त्यस अनुसार गरिएका काम लिएर जनता सामु जान उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अन्य दललाई मकवानपुरमा के गर्यो भनेर सोध्नुस्, एउटा मात्र के काम गर्नुभयो भन्दै प्रस्न गरौ, उत्तर दिन सक्ने आधार छैन । तर, एमालेले मकवानपुरका लागि के चै गरेन भनेर भन्ने आधारहरु धेरै छ ।”
एमालेको विजय सुनिश्चित छ–एकालाल श्रेष्ठ

आगामी निर्वाचनमा मकवानपुरमा नेकपा एमालेको विजय सुनिश्चित रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–२ अन्तरगत प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले बताउनुभयो । एमालेले समृद्धि र राष्ट्रियताको नेतृत्व गरेको अवस्थामा सरकारबाट बाहिरिन बाध्य पारिएको बताउनुभयो । एमाले सरकारबाट बाहिरिएसंगै बिकासको बाटो बन्द हुँदै गएको उहाँको भनाई थियो ।
निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भारती पाठक, जुनेली श्रेष्ठ, नेता अनन्त पौडेल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, एमालेका प्रदेश कमिटीका सदस्यहरु हरि बहादुर महत, गोपाल बहादुर श्रेष्ठ, श्रीधर पोख्रेल, राप्रपा नेपालका नेता राजाराम बर्तौला लगायतकाको आतिथ्यता रहेको थियो ।