मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा तयारी तीव्र रूपमा भइरहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार मकवानपुरका जिल्ला न्यायाधीश ऋषिराम निरौला मुख्य निर्वाचन अधिकृत र मुकुन्दहरि पौडेल निर्वाचन अधिकृतमा रहनुभएको छ ।
पोखरेलका अनुसार मकवानपुरको क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत रहने र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत रहने व्यवस्था रहेको छ । असोज १५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्लामा १६७ मतदान स्थल
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा १६७ मतदानस्थल निर्धारण गरिएको छ । निर्वाचन आयोगले जिल्लाका १० वटा स्थानीय तहका लागि १६७ मतदानस्थल कायम गरेको हो ।
निर्वाचन आयोगले सोमबार देशभर कायम गरिएका निर्वाचन स्थल सार्वजनिक गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा २ मतदानस्थल थप गरेको छ । स्थानीय तह निर्वाचनमा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमा १६५ मतदानस्थल कायम गरिएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदानस्थलको विवरणअनुसार मकवानपुर जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ६१ वटा मतदानस्थल रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बकैया, बागमती, मकवानपुरगढीका ४ वटा वडा र हेटौँडा उपमहानगरका १६ वटा वडामा ६१ वटा मतदानस्थल निर्धारण गरिएको हो ।
क्षेत्र नम्बर १ को बकैया गाउँपालिकामा २० वटा मतदानस्थल कायम गरिएको छ । यस्तै, बागमती गाउँपालिकामा १६ वटा मतदानस्थल कायम गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मकवानपुरगढीका वडा नम्बर १ देखि ४ सम्म ५ वटा मतदान केन्द्र कायम गरिएको छ । यसैगरी क्षेत्र नम्बर १ मै पर्ने हेटौँडा उपमहानगरपालिकाका १६ वटा वडामा २१ वटा मतदानस्थल कायम गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर २, ४ देखि १० सम्म र १२ देखि १८ सम्म निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्दछन् ।
मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत पर्ने क्षेत्रका लागि निर्वाचन आयोगले एक सय ६ वटा मतदानस्थल कायम गरेको छ । क्षेत्र नम्बर २ अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५ देखि ८ सम्म ७ वटा मतदानस्थल रहेका छन् । क्षेत्र नम्बर २ अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ का लागि ६ वटा मतदानस्थल कायम गरिएको छ । क्षेत्र नम्बर २ अन्तर्गतका इन्द्रसरोवर गाउँपालिकामा ११ वटा, थाहा नगरपालिकामा २१ वटा, भीमफेदी गाउँपालिकामा १४ वटा, कैलाश गाउँपालिकामा १६ वटा, मनहरी गाउँपालिकामा ११ वटा र राक्सिराङ गाउँपालिकामा १९ वटा मतदानस्थल कायम गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रमा विभाजन गरिएका हेटौँडामा जम्मा २७ वटा र मकवानपुरगढीमा १२ वटा मतदानस्थल रहेका छन् ।
स्थानीय तह निर्वाचन पछि ५ हजार ८१४ मतदाता थप
मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन पछि ५ हजार ८ सय १४ मतदाता थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ पछि मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । थप भएका मतदातासँगै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १५५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ७५८ जना मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो । योसँगै मकवानपुरमा ३ लाख ७३३ जना कुल मतदाता सङ्ख्या भएको छ ।