हेटौंडा – मकवानपुरका सबै (दशवटै) स्थानीय तहमा रहेका मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि मकवानपुरका मतगणना स्थलमा तयारी गरिएको हो ।

मकवानपुरका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको छ । मकवानपुरका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । वैशाख ३० गते हुने पालिका चुनावको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको छ ।

जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र अरु आठ वटौ स्थानीय तहमा मतगणनाका लागि सीसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारीअनुसार मतगणना स्थल तयार पारिएको छ । चुनावमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सीसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले पालिकाको व्यवस्थापनमा सीसी क्यामेरा र तारजाली लगाएको हो ।