मकवानपुर– नागरिकका तर्फबाट शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना निर्माण गरिने भएको छ । कोषको सदस्य विस्तार तथा कोषमा रकम बृद्धिकालागि कार्ययोजना निर्माण गरिने भएको हो ।
विधान अनुसार तीन महनिामा अधिवेशन गर्नुपर्ने प्रावधान अनुसार सोमबार मात्रै पहिलो साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको समिक्षाका लागि बिहीबार बसेको कोषको कार्यसमिति बैठकले सदस्यता विस्तारकालागि कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने निर्णय गरेको छ । कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले संस्थामा सदस्यता विस्तार तथा कोषको आर्थिक अवस्थालाई मजबुत बनाउन कार्ययोजना बनाउने निर्णय गरेको हो । संस्थाका सचिव बद्री बहादुर पाठकको संयोजक्त्वमा कोषध्यक्ष राम कृष्ण थापा र सदस्य मुकुन्द अधिकारी रहेको तीन सदस्य कार्ययोजना निर्माण समिति समेत गठन गर्ने निर्णय भएको अध्यक्ष खुलालले जानकारी दिनुभयो । समितिलाई एक हप्ताको समयावधि दिएर कार्य विभाजन सहितको कार्ययोजना तयार गर्ने जिम्वेवारी दिईएको समेत उहाँले जानकारी दिनुभयो । समितिले आगामि एक वर्षका लागि कार्ययोजना निर्माण गर्ने जिम्मेवारी समितिलाई प्रदान गरेको हो ।
त्यस्तै बिहीबार बसेको बैठकले आशाकाजी श्रेष्ठ, विवश अधिकारीलगायत कोषमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ । कोषमा हाल सम्म करीब ६ लाख रुपैयाँ जम्मा भएको र कम्तीमा १ करोडको कोष निर्माण गर्ने योजना रहेको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।