मकवानपुर – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहको निर्वाचनमा मकवानपुरे जनताले एमालेको पक्षमा मतदान गर्ने बताउनुभएको छ । पार्टी जिल्ला कमिटि तथा नगर कमिटीले संयुक्त रुपमा आयोजना गरेको निर्वाचन प्रशक्षिण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको नेतृत्वमै हेटौँडा प्रदेशको राजधानी बनेको विषय मकवानपुरे जनताले बुझेको स्मरण गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाका नेतृत्व लिएको एमालेले नगरमा गरेका विकास निर्माणको काम देखेर यो पटक पनि यहाँका सर्वसाधारणले एमालेकै पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य अनन्त पौडेलले सत्ता गठबन्धन अत्तालिएको भन्दै एमालेको पक्षमा जनलहर देखिएको दाबी गर्नुभयो । एमाले हेटौँडा उपमहानगरपालिकाका इन्चार्ज सुनिल मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज जुनली श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल,जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।