नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो ।
नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणीकरण गर्नुभएको छैन । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफूहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताउनुभयो । उहाँले आफूहरु नेपाली नागरिक बुवाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहे पनि हालसम्म मागको सम्बोधन नभएको बताउनुभयो । सरकारले आफूहरुको संविधानसम्मत् मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनुभयो । धर्नामा सहभागिहरुले आफूहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।