चलचित्र ‘दर्पण छायाँ’ फेरि एकपटक चर्चामा छ । यो चलचित्रका मुख्य कलाकारहरु नायिका निरुता सिंह र नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानले चलचित्रको सिक्वेल बनाउने तयारी थालेपछि चर्चा सुरु भएको हो । कोरोना भाइरसको संक्रमण नभएको भए संभवत चलचित्रको छायांकन अहिलेसम्म सकिने थियो । तर, लकडाउनका कारण चलचित्रको छायांकन अगाडि बढ्न सकेन । चलचित्र ‘दर्पण छायाँ’को नामलाई प्रयोग गर्दै निर्देशक तुलसी घिमिरेले नै चलचित्र ‘दर्पण छायाँ २’ बनाएपनि यो असफल भयो । तुलसीले यसको ब्रान्ड जोगाउन सकेनन् ।

अब, कलाकार उत्तम प्रधान यसको ब्रान्ड जोगाउन अगाडि सरेका छन् । चलचित्र ‘दर्पण छायाँ फेरि’ नाम दिएर बन्न लागेको सिक्वेललाई उत्तम प्रधानले नै निर्देशन गर्ने भएका छन् । चलचित्रको कथा पनि उत्तम आफैले लेखेका हुन् । उत्तमलाई चलचित्र उत्कृष्ट बनाउने दबाब मात्र छैन ‘दर्पण छायाँ’को ब्रान्ड जोगाउने चुनौती समेत छ ।