काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाले भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी रुपमा अघि बढिरहेको जानकारी दिएको छ । प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा प्राधिकारण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो समय द्रुत गतिमा पुनर्निमार्णको काम अघि बढिरहेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आगामी भदौ २२ सम्ममा धरहरा निर्माणको काम सम्पन्न भैसक्ने र आगामी वैशाख सम्ममा रानीपोखरीको बाल गोपालेश्वर मन्दिको निर्माण समेत भैसक्ने जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले पुनर्निमार्णमा भैरहेको ढिलासुस्ती, एकीकृत बस्ती निर्माणको समस्या, इन्जिनियर परिचालनमा देखिएको समस्या तथा अनुदान वितरण र निजि आवाज निर्माणमा भएको ढिलासुस्तीबारे प्रश्न गर्नु भएको थियो ।
बैठकमा प्राधिकरणले ८ लाख २० हजार ६ सय ९१ निजि लाभग्राहिहरु मधये ६२ प्रतिशत निजि घरको निर्माण कार्य सम्पन्न भैसकेको, ९९ प्रतिशतले प्रथम किस्ता रकम अनुदान प्राप्त गरिसकेको जनाएको छ ।
यस्तै प्राधिकरणले ७१ प्रतिशत विद्यालय भवनको पूनर्निर्माणको काम सम्पन्न भएको, २४ प्रतिशतको पूनर्निर्माण जारी रहेको र ५ प्रतिशत शुरु हुन वाँकी रहेको जनाएको छ ।

त्यसैगरी हालसम्म ५६ प्रतिशत स्वास्थ्य संस्थाका भवनहरु निर्माण भैसकेको र ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माणको काम सम्पन्न भएको प्रधिकरणले जनाएको छ ।
पुरातात्विक एवं साँस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरुको पुनर्निर्माणको काम ५१ प्रतिशत सम्पन्न भएको, १६ प्रतिशत जारी रहेको र ३३ प्रतिशत शुरु हुन वाँकी रहेको समेत पुनर्निर्माण प्राधिकरणले जनाएको ।