राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्री भैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवीदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन् ।
भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधारणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।