नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लागि तयारी पूरा भएको जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।
प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिइएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ । एन्फाले प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आइसकेको र अन्य टोली आइतबारसम्म आइपुग्ने जनाएको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ ।