७० जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ । विगतका वर्षमा भन्दा यसपालि डेङ्गुको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गुको सङ्क्रमण धेरै फैलिएको छ । दाहालका अनुसार डेङ्गुको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ ।
सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गुको बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् । १७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ । गएको वर्ष ५८ जिल्लामा डेङ्गुको फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।
२०७६ सालमा भने डेङ्गुको फैलिएको थियो । त्यतिबेला १० हजारभन्दा धेरैमा डेङ्गुको सङ्क्रमण भएको थियो । यसपालि पनि डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकारसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । तर, डेङ्गुको रोकथामका लागि यो मात्रै पर्याप्त नभएको डाक्टर दाहालले बताउनुभयो । डेङ्गुको सङ्क्रमण रोकथामका लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा उहाँको जोड छ । डेङ्गुको सङ्क्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय उज्यालोमा टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार एडिस जातको लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि बढी सक्रिय हुन्छ । त्यसैले यो समयमा बढी सचेत हुनुपर्छ । ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेङ्गुका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।