नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा टिकट पाइँन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिङ्गो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर चुनावकाे काममा केन्द्रित हुन सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो ।
पार्टीकाे पर्सा जिल्ला कमिटीले आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने बताउनुभयाे । उम्मेदवार नबनेकाहरू असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पुर्याउने उल्लेख गर्दै उहाँले उम्मेदवार नपाएकाहरूलाई पार्टीले सरकार बनाए काम गर्नका लागि थुप्रै ठाउँ हुने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्रमा पनि एक/एक जना उम्मेदवार हुन्छ । उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार हुन पाइँन भनेर असन्तुष्ट हुने हो भने त्यसले हामीलाई ठूलो घाटा पुर्याउँछ । हामी एकजुट भयौँ भने जहाँ पनि जित्न सक्छौँ । जति विभाजित हुन्छौँ, त्यति कमजोर हुन्छौँ ।
चुनाव आउँदैछ । यसमा अनेक प्रकारणका हत्कण्डा अरूले प्रयोग गर्न सक्छन् । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नुपर्छ ।’ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताउनुभयो । आउँदाे चुनावमा मतदाताको सङ्ख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने उहाँकाे भनाइ थियाे । कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले तराई, मधेसमा देखिएकाे नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो । अरूले मधेसमा त्यहाँका जनताको समस्या समाधान नभइ राजनीति मात्रै गरिरहेको उहाँको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैँले अघि बढ्न नदिएको गुनासोसमेत गर्नुभयो । उहाँले विवाहित अङ्गीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताउनुभयो ।